यस वर्ष मनसुनजन्य विपदबाट १८ लाखभन्दा धेरै मानिस प्रभावित हुने अनुमान

छहारी संवाददाता
जेष्ठ २७, २०७८

आज देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

पश्चिमी वायु, पूर्वी वायु र स्थानीय वायुको समेत प्रभाव रहेकाले देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले बताउनुभयो । अहिले देशका धेरै ठाउँमा बादल लागेर केही ठाउँमा सामान्य पानी परिरहेको छ भने दिउँसोपख धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।

मनसुनी प्रणाली पनि नेपाल नजिकै आइसकेकाले भोलि बेलुकीपख वा पर्सिसम्म मनसुन भित्रने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसैबीच यस वर्ष बाढी, पहिरोलगायत मनसुनजन्य विपदबाट १८ लाखभन्दा धेरै मानिस प्रभावित हुने अनुमान गरिएको छ ।

गएको वर्ष औसत बराबर पानी पर्ने प्रक्षेपण हुँदा ठूलो मानवीय क्षति ब्यहोरेको र यस वर्ष औसतभन्दा धेरै पानी पर्ने आकलन गरिएको यसपालिको मनसुनमा झन् चुनौतीपूर्ण रहने अनुमान मौसमविद्ले गरेका छन् । बाढीबाट १७ लाख र पहिरोबाट एक लाख २० हजार प्रभावित हुने अनुमान गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर डिभिजनल हाइड्रोलोजिस्ट राजेन्द्र शर्माले जानकारी दिनुभयो ।

जल तथा मौसम विज्ञान विभागले यसअघि नै बढी पानी पर्ने आकलन सार्वजनिक गरिसकेकाले सबै सचेत हुनुपर्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताउनुभयो। साभारः उज्यालो अनलाइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*