यास चक्रवातको प्रभाव : पाँच प्रदेशका यी स्थानमा भारी वर्षाको सम्भावना

देशका अधिकांस स्थानमा अहिले वर्षा जारी
छहारी संवाददाता
जेष्ठ १४, २०७८

बंगालको खाडीमा विकसित यास चक्रवातको प्रभावका कारण शुक्रबार सुदूरपश्चिम बाहेक प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ

सुदूरपश्चिम प्रदेशमा भने केही स्थानमा मात्र मेघगर्जन र चट्याङसहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल नेपालमा यास चक्रवात पश्चिमउत्तर–पश्चिम सर्ने क्रममा कमजोर भई बनेको न्यून चापीय क्षेत्रको प्रभाव छ ।

त्यसैले देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था छ । यो अवस्थासँगै धेरै स्थानहरूमा मेघगर्जन चट्याङ हावाहुरी सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मौसमविद् मीन कुमार अर्यालले मौसममा शनिबार अपराह्नबाट क्रमश: सुधार हुँदै जाने जानकारी दिए ।

केही स्थानमा भारी वर्षाको सम्भावना

महाशाखाले जारी गरेको नियमित बुलेटिनमा उल्लेख भएअनुसार शुक्रबार दिउँसो र राति प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा अति भारी वर्षा र उच्च वेगको हावाहुरीको सम्भावना छ ।

यसैगरी उच्च हिमाली तथा पहाडी भूभागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना पनि छ । केही स्थानमा भारी हिमपातको सम्भावना पनि रहेको बुलेटिनमा उल्लेख छ ।

शनिबार पनि प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी वर्षा हुने पूर्वानुमान महाशाखाले गरेको छ ।

आइतबार पनि देशभर आंशिकदेखि सामान्य बदली हुने छ । तर मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना भने बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मात्र छ । आइतबार राति भने प्रदेश १ र प्रदेश २ एक–दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको मौसमी बुलेटिनमा उल्लेख छ ।

यास चक्रवातको प्रभावका कारण परिवर्तन भएको मौसमले क्षति पुर्याउन सक्ने भन्दै मौसमविदहरुले हिमाल आरोहणमा गएका पर्वतारोहीलाई समेत तत्काल फिर्ता बोलाउन र तटीय क्षेत्रमा विशेष सजगता अपनाउन आग्रह गरेका छन् ।

साभारः अनलाइन खबर

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*