काठमाण्डौ उपत्यकामा शुक्रबारदेखि एक हप्ता खाद्यान्न पसल बन्द हुने
काठमाण्डौ उपत्यकाकामा पर्सि शुक्रबारदेखि २० गतेसम्म खाद्यान्न पसलसमेत बन्द हुने भएका छन् ।
उपत्यकाका तीन जिल्ला काठमाण्डौ, ललितपुर र भक्तपुरमा २० गते राति १२ बजेसम्म निषेधाज्ञा लम्ब्याउँदै प्रमुख जिल्ला अधिकारीहरुको बैठकले पर्सिदेखि एक हप्ता खाद्यान्न पसलसमेत बन्द गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ उपत्यकामा पछिल्लोपटक थपिएको निषेधाज्ञा भोलि सकिंदैछ । कोरोना सङ्क्रमणको जोखिम बढेको निष्कर्षका साथ काठमाण्डौ उपत्यकामा थप कडाइका साथ जारी गरिएको आदेश पर्सिदेखि लागू हुने प्रशासनले जनाएको छ । पर्सिदेखि एक हप्ता खाद्यान्नका पसलसमेत बन्द हुने भएकाले आज र भोलि नै खाद्यान्नको जोहो गर्न आग्रह गरिएको छ ।
एक हप्ताका लागि खाद्यान्न, किराना पसल र डिपार्टमेन्टल स्टोरसमेत बन्द हुनेछन् । तरकारी, फलफूल, मासु, डेरी, खानेपानी र ग्यास पसल भने बिहान ९ बजेसम्म खोल्न पाइने छ । यसअघि जारी गरिएका गाडीका पास खारेज गरिएको छ भने विकास निर्माणसँग सम्बन्धित गाडी सञ्चालनमा पनि रोक लगाइएको छ । यस्तै, बिहान बेलुकाको घुमघाम ९मर्निङ र इभिनिङ वाक० मा समेत रोक लगाइएको छ । उज्यालो अनलाइनबाट ।







