सिद्धार्थ माविको नयाँ व्यवस्थापन समितिका उम्मेदवारद्धारा प्रधानाध्यापकको राजिनामा माग(विज्ञप्ति सहित)
हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको सिद्धार्थ माविको नयाँ व्यवस्थापन समिति गठनका लागी उम्मेदवारी दिएकाहरुले प्रधानाध्यापकले तत्काल राजिनामा दिनुपर्ने माग गरेका छन् ।
समितिको अध्यक्षयमा गैर कानुनी ढंगले पुरानै विद्यालय व्यवस्थापन समितिलाई निरन्तरता दिनेगरी निर्णय भएको भन्दै उनीहरुले प्रधानाध्यापकको राजिनामा माग गरेका हुन् । नयाँ समितिका लागि उम्मेद्वारी दिएका मध्ये १७ जनाले संयुक्तरुपमा आइतबार एक विज्ञप्ति जारी गरी योग्यता नपुगेका व्यक्तिको अध्यक्षको नियुक्ति बदर गर्दै यथाशिध्र विद्यालय व्यवस्थापन समिति गठन गर्न माग गरेका छन् ।
योग्यता नपुगेको व्यक्तिलाई योग्यता पुरा गर्न, गराउन कृत्रिम अभिभावक बनाई विद्यालय प्रधानाध्यापक आफैले विद्यार्थीको किर्ते हाजिरी गर्ने जस्तो गैरकानुनी कार्यमा गरेको उनीहरुको आरोप छ । उनीहरुले वडा कार्यालयले बैशाख २१ गते पुरानै विद्यालय व्यवस्थापन समितिलाई अस्थायी समितिको रुपमा निरन्तरता दिने गरी गरेको निर्णयप्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै तत्काल सच्याउन समेत माग गरेका छन् ।
शिक्षा प्रदान गर्ने पवित्र संस्थामा निजी स्वार्थ एवम् गुटको राजनिती गर्ने आशयले उक्त निर्णय गरिएको भन्दै यस्ता अप्राकृतिक निर्णयले अन्ततः विद्यालय एवम् विद्यार्थीहरूको भविष्यमा गम्भीर असर गर्ने भएकाले सम्बन्धित निकायलाई ध्यान दिन विज्ञप्तिमा आग्रह गरिएको छ ।
व्यवस्थापन समिति चयनको लागी प्रकृया पुर्याएर २६ जना आकांक्षी अभिभाकहरुले विधिवत रुपमा उम्मेदवारी दर्ता समेत गराई सकेको अवस्थामा वडा कार्यलय र विद्यालय प्रशासनले पूर्व अध्यक्षलाई नै निरन्तरता दिने उद्देश्य राखी यस्तो निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ ।
नयाँ समितिका लागी उम्मेदवारी दिएका व्यक्तिहरुबाटै सहमति जुट्ने अवस्था हुँदाहुँदै छलफल नै नगरी एकलौटि ढंगबाट निर्णय गरिएकोमा आकांक्षी उम्मेदवाहरुले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । वडा नं २ समितिले बनाएको अस्थायी विद्यालय व्यवस्थापन समितिका ३ जना सदस्यहरुले गलत क्रियाकलापको बिरुद्ध राजिनामा समेत दिईसकेको विज्ञप्ति उल्लेख छ ।






