हेटौंडा -६ मा कोभिड १९ सामुदायिक रेस्पोन्स कार्यदल गठन

छहारी संवाददाता
जेष्ठ १, २०७८

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ले कोभिड १९ सामुदायिक रेस्पोन्स कार्यदल गठन गरेको छ । वडा अध्यक्ष अर्जुन प्रसाद चौंलागाईको संयोजकत्वमा २९ सदस्यीय कार्यदल गठन गरिएको हो । कार्यदलमा भरत सापकोटा सहसंयोजक र चौघडा स्वास्थ्य चौकीका प्रमुख टि.एन ढुंगेल सदस्य सचिव रहेका छन् ।

कार्यदलले वडा अध्यक्ष अर्जुन चौलागाईंको संयोजकत्वमा ९ सदस्यीय एक्सन कमिटी पनि निर्माण गरेको छ । कमिटीमा ६ नम्बर वडाका टोल विकास संस्था समन्वय समितिका संयोजक केशव धिताल, ६ नम्बर वडाका विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु पुष्पराज पराजुली, सोनी गुरुङ, रामहरि तिमिल्सिना, राजकुमार बास्तोला,चौघडा प्रहरी चौकीका प्रमुख, सिदस्थली ग्रामीण सामुदायिक हस्पिटलका प्रमुख, चौघडा स्वास्थ्य चौकी प्रमुख रहेका छन् ।

६ नम्बर वडामा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएकोले यसलाई न्यूनीकरण गर्न सामुदायिक स्तरबाट नै पहल गर्न कार्यदल गठन गरिएको वडा अध्यक्ष अर्जुन प्रसाद चौंलागाईले जानकारी दिनुभयो । वडामा रहेका २३ वटा टोल विकास समितिको कार्यक्षेत्रलाई समेटेर कार्यदल गठन गरिएको छ ।

रेस्पोन्स टिमले ६ नम्बर वडाका कोरोना संक्रमितलाई पहिचान गर्ने,संक्रमितलाई मनोपरामर्श दिने ,स्वास्थ्य परामर्श दिने,स्वास्थ्य सामग्रीमा सहयोग गर्ने,संक्रमितलाई आवश्यक परेको खण्डमा आकस्मीक सेवा दिने,राहत लगायतका कार्यक्रम गर्ने संयोजक भरत सापकोटाले बताउनुभयो ।

संक्रमितहरुका लागि सहयोग एवं राहतको लागि कोभिड १९ सामुदायिक रेस्पोन्स कार्यदललाई आजै २५ हजार नगद र खाद्यान्न सहयोग प्राप्त भएको छ । स्थानीय उदय विडारीले २ सय लिटर इन्धन, १० बोरा चामल र १ बोरा दाल उपलब्ध गराउनु भएको छ । त्यस्तै हेटौंडा ६ चौघडामा रहेको लिसन फार्मेसीले संक्रमितहरुलाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने भएको छ ।

हाल ६ नम्बर वडामा ५५ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । वडामा कोरोना कारण दुई जनाले ज्यान गुमाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*