चुरे हिल र मकवानपुर सहकारी अस्पतालले पनि कोरोना संक्रमितको उपचार नगर्ने
कोरोना संक्रमितको उपचार गरिरहेका मकवानपुरका दुई निजी अस्पतालले पनि थप संक्रमितको उपचार गर्न नसक्ने बताएका छन् । हेटौंडामा रहेको चुरे हिल अस्पताल र मकवानपुर सहकारी अस्पतालले कोरोना संक्रमितको उपचार गर्न नसक्ने बताएका हुन्् । चुरेहिल अस्पताल प्रा.लि र मकवानपुर सहकारी अस्पतालले आज संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै बाहिरी जिल्लाबाट अक्सिजनको सिलिन्डर आउन छोडेपछि उपचारमा समस्या भएको बताएका छन् ।
“जिल्लामा अक्सिजन प्लान्ट नभएको र बाहिरी जिल्लाबाट अक्सिजन आपूर्ती नभएको कारण आजैबाट दुबै अस्पतालले कोभिडका बिरामीहरुको उपचार गर्न नसक्ने व्यहोरा सर्वसाधारणको लागि जानकारी गराउँदछौं ।” विज्ञप्तिमा भनिएको छ । साथै विज्ञप्तिमा कोभिड १९को रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकार,स्वास्थ्य मन्त्रालय,स्थानीय प्रशासन लगायतबाट जारी सूचना अनुसार सबैले सहयोग गर्नुहुन पनि विज्ञप्ति मार्फत अनुरोध गरिएको छ ।
कोभिड उपचारको लागि चुरेहिल अस्पतालले दश र मकवानपुर सहकारी अस्पतालले बीस बेडको HDUसेवा सहित उपचार प्रदान गर्दै आएका थिए ।
एक पछि अर्को गर्दै हेटौंडामा रहेकाका अस्पतालले कोरोना संक्रमितको उपचार गर्न नसक्ने बताएका छन् । आजै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान (हेटौंडा अस्पताल)ले पनि अक्सिजन अभावका कारण थप कोरोना संक्रमितको उपचार गर्न नसक्ने बताइसकेको छ ।






