प्रदेश प्रहरीद्वारा ६७० थान अक्सिजन सिलिण्डर संकलन
प्रदेश प्रहरी कार्यालय हेटौंडा र मातहतका कार्यालयद्वारा हाल सम्म ६ सय ७० थान अक्सिजन सिलिण्डर संकलन गरिएको छ । उद्योगधन्दा, वर्कसप, ग्यारेज, ग्रिल उद्योग, कवाडी उद्योग, हाईड्रोपावर, क्रसर उद्योग, विभिन्न पसल तथा ब्यक्तीहरु समेतबाट खाली तथा भरिएका अक्सिजन सिलिण्डरहरु संकलन गरेर बिरामीको उपचारमा सहयोग गरिदै आएको छ ।
बागमती प्रदेश प्रहरीले अक्सिजनको अभावमा आम नागरिकको ज्यान जोखिममा परिरहेको अबस्था प्रति संवेदनशीलभै अक्सिजन सिलिण्डर संकलन गर्ने कार्यलाई अभियानको रुपमा संचालन गरीएको हो । संकलित अक्सिजन सिलिण्डरहरुलाई सम्बन्धित जिल्लाको निर्णय अनुसार आवश्यकताको आधारमा बिभिन्न अस्पताल, आईसोलेसन सेन्टरहरुमा उपलब्ध गराउने कार्यलाई अघि बढाएको प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी उपरिक्षक राज कुमार सिलवालले वताउनुभयो ।
बढ्दो कोभिड–१९ को संक्रमणसंगै पछिल्लो समयमा कोभिड–१९ बाट संक्रमितहरुलाई अक्सिजन दिनुपर्ने र अक्सिजन अभावमा मृत्युबरण गर्नु परेको घटनाहरु बढ्दै गईरहेकाले यो अभियान संचालन गरिएको उहाँले जानकारी दिनुभयो । अस्पतालहरुमा अक्सिजन सिलिण्डरको खपत समेत बढ्दै गईरहेकोले अस्पताल बाहेक अन्य विभिन्न प्रयोजनमा प्रयोग हुने सिलिण्डरहरुको संकलन गर्ने कार्य गरिएको हो ।
बागमती प्रदेश अन्तर्गतका प्रहरी ईकाईहरुबाट संकलन गर्ने सन्दर्भमा हालसम्म १ सय २९ थान भरिएका र ५ सय ४१ थान खाली गरी जम्मा ६ सय ७० थान अक्सिजन सिलिण्डर संकलन गरिएको एसपी सिल्वालले वताउनुभयो । संकलित सिलिण्डरहरु सम्बन्धित जिल्लाहरुमै प्रयोग गर्न ब्यवस्थापन गरिएकोमा सहयोग गर्न सकिने केही सिलिण्डरहरु अत्यावश्यक महसुस गरिएका अन्यन्त्र स्थानहरुमा समेत उपलब्ध गराउने कार्य गरिएको छ । जस मध्ये कोभिड–१९ संकट व्यवस्थापन संचालन केन्द्र छाउनी काठमाण्डौलाई १० थान भरेको र ४० थान खाली सिलिण्डर उपलब्ध गराईएको छ ।
स्वर्गद्धारी अक्सिजन उद्योग चितवनलाई ५१ थान, त्यसैगरी हेटौंडा अस्पताल, धादिङ अस्पताल, रामेछाप अस्पताल, मुग्लिङ हाईवे अस्पताललाई गरी ३६ थान भरेको र ९० थान खाली अक्सिजन सिलिण्डर वितरण गर्ने कार्य गरिएको छ । प्रहरीले अक्सिजनका सिलिण्डरहरु संकलन गर्ने कार्यलाई अझै तिब्रताका साथ अघि बढाएको छ ।
जनपत्रबाट





