कोरोनाका बिरामीलाई न्युनतम अक्सिजन र बेड पनि दिन नसक्दा लाज लागेको छः योगेश भट्टराई
पूर्वमन्त्री एवम् नेकपा एमालेका नेता योगेश भट्टराईले अहिलेको परिस्थितीमा सबैको एकमात्र मिसन कोभिड–१९ हुनु पर्ने बताउनु भएको छ । सामाजिक सन्जालमा आफ्ना सुझाव राख्दै भट्टराईले कोरोना संक्रमित बिरामीका लागि न्युनतम अक्सिजन र बेड पनि दिन नसक्दा लाज लागेको बताउनु भयो ।
उहाँले यस्तो संवेदनशील अवस्थामा भइरहेको अस्वस्थ राजनीतिक खेलहरुले सरकार, राज्ययन्त्र तथा राजनीतिक नेतृत्वप्रति असन्तुष्टि बढ्दै जाँदा व्यवस्था नै धरापमा पर्नसक्ने सम्भावना प्रति सचेत गराउनु भएको छ । उहाँले कोभिडविरुद्धको लडाइँमा खटेकाहरु बाहेक राज्यबाट पारिश्रमिक लिने सबैको सुविधा स्थगित गर्न सरकारलाई सुझाव दिएका छन् ।
भट्टराईले कोरोनाविरुद्धको लडाइँमा आर्थिक अभाव हुन नदिन अन्य शीर्षकका बजेट पनि कोभिडमै केन्द्रित गर्नुपर्ने, छिटो प्रकृयाबाट थप जनशक्ति भर्ना गर्नुपर्ने, भारत लगायत अन्य देशका सरकारलाई पनि अनुरोध गरी सहयोग तत्काल ल्याउनु पर्ने सुझावसमेत दिनु भएको छ ।





