शुक्रबारदेखि अनलाइन मार्फत मात्र पुनः श्रम स्वीकृति लिन सकिने
वैदेशिक रोजगार विभागले अनलाइन मार्फत मात्र पुनः श्रम स्वीकृति दिन वैदेशिक रोजगार कार्यालयहरुलाई निर्देशन दिएको छ।
विभागले भोलिदेखि भौतिक रुपमा उपस्थित भएर प्रदान गरिने सेवा बन्द गर्न आफू मातहतका श्रम कार्यालयहरुलाई निर्देशन दिएको हो । कोरोनाको जोखिम नियन्त्रणको लागि सरकारले निषेधाज्ञा लागू गरेसँगै अन्तर्राष्ट्रिय उडानहरु पनि बन्द भएपछि विभागले भौतिक रुपमा उपस्थित भएर दिइने सेवा बैशाख २४ देखि बन्द गर्न निर्देशन दिएको उज्यालो अनलाइनले लेखेको छ ।
विभागको निर्देशन अनुरुप भौतिक रुपमा उपस्थित भएर दिइने सेवाहरु जस्तो अन्तिम श्रम स्वीकृति, वैधानिकीकरण तथा नयाँ श्रम स्वीकृति अन्तर्राष्ट्रिय उडान सञ्चालन नभएसम्मको लागि बन्द गरेको ताहाचलमा रहेको वैदेशिक रोजगार कार्यालयले जनाएको छ ।
अनलाइन मार्फत पुनः श्रम स्वीकृति भने प्रदान गरिने कार्यालयले जनाएको छ । अनलाइन सेवाबारे थप जानकारीका लागि वैदेशिक रोजगार कार्यालयमा सम्पर्क गरेर बुझ्न सकिनेछ ।







