सामाजिक विकास मन्त्रालयद्वारा कोरोना विरूद्ध गरेका कामको जानकारी
बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले कोरोना संक्रमण विरुद्ध आफुले गरेको कामबारे जानकारी दिएको छ । मन्त्रालयमा सोमबार पत्रकार सम्मेलन गर्दै कोरोना संक्रमण विरूद्ध गरेको कामबारे जानकारी दिइएको हो ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालयका प्रवक्ता बरिष्ठ स्वास्थ्य प्रशासक डा. पुरुषोतमराज सेढाईले बागमती प्रदेशमा १ लाख ८३ हजार ३०५ जना संक्रमित रहेको जानकारी दिनु भएको थियो । उहाँका अनुसार पछिल्लो २४ घण्टामा गरिएको पिसिआर परिक्षणको संक्रमण दर ३७.३६ प्रतिशत रहेको र २४ घण्टामा सबै भन्दा बढी नयाँ संक्रमण देखिएका जिल्लाहरु काठमाडौँ, ललितपुर र भक्तपुर रहेका छन् ।
प्रदेशभर आइसीयु बेडको संख्या ४१५, आइसीयुमा भर्ना भएको संख्या २८०, भेन्टिलेटर बेडको संख्या १६० र भेन्टिलेटर बेडमा भर्ना भएको संख्या ९० जना रहेको सेढाईले जानकारी दिनुभयो ।
कार्यक्रममा सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले सबैको सहकार्यबाट मात्रै कोरोनालाई परास्त गर्न सकिने भएकाले सहयोगका लागि आग्रह गर्नुभयो । सामाजिक विकास राज्यमन्त्री डा. रामकुमार अधिकारीले कोरोना विरुद्धको अभियानलाई युद्धको संज्ञा दिंदै यो युद्ध जित्नका लागि स्वास्थ्यकर्मी, संचारकर्मी लगायतका सबै संयन्त्र परिचालन हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा मन्त्रालयका विभिन्न महाशाखा प्रमुख, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका सल्लाहकार प्रताप विष्ट, उपाध्यक्ष रूपेश दुलाल, महासचिव कृष्ण सारू मगर, मकवानपुर अध्यक्ष मणिराज गौतम, निवर्तमान अध्यक्ष हरि हुमागाई लगायतको सहभागिता रहेको थियो ।