दोब्बर बढी मूल्यमा मास्क बेच्ने सप्लायर्सलाई दुई लाख रुपैयाँ जरिबाना

छहारी संवाददाता
बैशाख १९, २०७८

बढी मूल्यमा मास्क बिक्री गर्ने सप्लायर्सलाई कारबाही गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बढी मूल्य लिएर मास्क बिक्री गर्ने त्रिपुरेश्वरमा रहेको अल फाइनल सर्जिकल सप्लायर्सलाई आइतवार (आज) कारबाही गरिएको हो ।

बजार अनुगमनका क्रममा खरिद गरेको मूल्यको तुलनामा दोब्बर मूल्यमा मास्क बिक्री गरेको पाइएपछि यस सप्लायर्सलाई कारबाही स्वरूप दुई लाख रुपैयाँ जरिबाना गरिएको विभागका प्रवक्ता शिवराज सेढाईँले जानकारी दिनुभएको उज्यालो अनलाइनले लेखेको छ । उहाँका अनुसार अनुगमनका क्रममा यस सप्लायर्सले प्रतिगोटा रु ४।४६ पैसामा खरिद गरेको मास्कलाई रु ८.३८ पैसामा बिक्री गरेको पाइएको थियो ।

यस सप्लायर्सलाई उपभोक्ता संरक्षण ऐन २०७५ दफा १६ ९२० को ‘क’ बमोजिम अनुचित व्यापारिक क्रियाकलाप गरी दफा ३८ बमोजिम कसुर गरेको पाइएपछि दफा ३९ ९१० को ‘ख’ बमोजिम जरिबाना गरिएको हो । अहिले विभागले काठमाण्डौ उपत्यकाका तीन जिल्लामा जारी निषेधाज्ञाको समयमा बजारमा अनुचित व्यापारिक कारोबार हुने भन्दै बजार अनुगमनलाई तीव्रता दिएको छ ।

गएको बिहीवार विभागले भक्तपुरमा मास्क उत्पादन गर्ने हिमालयन हेल्थ केयर कम्पनीलाई ५० हजार रुपैयाँ जरिबाना गरेको थियो । यस कम्पनीले उपभोक्ता मूल्य नतोकी बजारमा मास्क बिक्री गरेको गुनासोका आधारमा उद्योगमा स्थलगत रूपमा अनुगमन गरी विभागले कारबाही गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*