डाक्टरसहित ९० प्रतिशत कर्मचारीमा कोरोना देखिएपछि सुशील कोइराला क्यान्सर अस्पताल बन्द
डाक्टरसहित ९० प्रतिशत कर्मचारीमा कोरोना देखिएपछि नेपालगन्जस्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बन्द गरिएको छ।
शनिबार अस्पतालले विज्ञप्ति जारी गर्दै डाक्टर, स्टाफ नर्स तथा प्रशासनिक कर्मचारीहरुलाई कोरोना संक्रमण पुष्टि भएपछि आकस्मिक सेवाबाहेक अस्पतालका सबै सेवा बन्द गरिएको जनाएको छ, देशसञ्चारले लेखेको छ । अस्पतालमा कार्यरत सबै कर्मचारीहरुको पीसीआर जाँच गराउँदा ९० प्रतिशतको रिपोर्ट पोजिटिभ आएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
‘अस्पतालमा कार्यरत कर्मचारी एवं स्वास्थ्यकर्मीको पीसीआर परीक्षण गर्दा ९० प्रतिशत कर्मचारीमा कोरोना पोजेटिभ पाइएको र यो अवस्थामा सेवा दिन नसकिने हुँदा एक साताका लागि इमरजेन्सी बाहेकका सबै सेवा बन्द गरेको जानकारी गराउँन चाहन्छौँ । वैशाख १२ गतेदेखि १८ गतेसम्म अस्पतालमा इमरजेन्सीबाहेकका सेवा दिन सकिने छैन ’, विज्ञप्तिमा भनिएको छ।







