चौथो बागमती गोल्डकपः एपीएफलाई २–० गोलले हराउँदै थ्रीस्टार सेमिफाइनल प्रवेश

छहारी संवाददाता
चैत्र १९, २०७७

मकवानपुरको बागमतीमा जारी चौथो बागमती गोल्डकपमा थ्रीस्टार युवा क्लब ललितपुर सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहिवार भएको खेलमा थ्रीस्टारले एपीएफ युवा क्लब काठमाडौलाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । जनता माविको खेल मैदानमा भएको खेलको पहिलो गोल रहित हाफ बराबरी भएको थियो । खेलको दोस्रो हाफको ४० औँ मिनेटमा थ्री स्टारका जर्सी नम्बर १७ का रितिक खड्काले दिएको पासमा जर्सि नम्बर ७ का दिपेश घलेले खेल गोल गरे ।

एपीएफ युवा क्लबको तर्फबाट क्याप्टेन रुपेश केसिले गरेको प्रहारलाई थ्रीस्टारका गोल रक्षक पुर्ण चेमजोेङले बचाएका थिए । एपिएफले धेरै अवसर पाए पनि सदुपयोग भने गर्न सकेन् । लगतै खेलका ४२ औं मिनेटमा पुनः दिपेशले अर्को गोल गर्दै २–० को अग्रता दिलाए । जुन गोल थ्रीस्टारको लागि निर्णायक बन्यो ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका थ्री स्टारका दिपेश म्यान अफ दि म्याच घोषित भए । उनले ५ हजार रुपैयाँ प्राप्त गरे। प्रतियोगिता अन्तरगत २० गते शुक्रबार जावलाखेल युथ क्लब ललितपुर र अफ्रिकन रुट एसोसिएसन, क्यामरुन बीच पहिलो सेमिफाइनलको खेल हुनेछ ।

प्रतियोगितामा प्रथम हुनेलाई ८ लाख, द्वितीय हुनेलाई ४ लाख, सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार, बिधागत उत्कृष्ट खेलाडीलाई प्रतिखेलडी १०/१० हजार, म्यान अफ दि म्याचलाई प्रति खेलाडी ५/५ हजार प्रदान गरिने छ । तेस्रो बागमती गोल्ड कप २०७५ को उपाधी सरस्वती क्लब काठमाडौं र पहिलो बागमती गोल्ड कप २०७५ को उपाधी हरिहरपुर गाउँपालिका, सिन्धुलीले पोल्टामा पारेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*