वायु प्रदूषणबाट मंगलबारदेखि राहत मिल्ने सम्भावनाः मौसमविद्
वायु प्रदूषण कम हुन चाहिने वर्षाका लागि कम्तीमा मंगलबार अपरान्हसम्म पर्खिनु पर्ने देखिएको मौसमविद्ले बताएका छन् । शुक्रबार दिउँसोदेखि वायुमण्डलमा देशमा विभिन्न क्षेत्रमा लागेको डढेलोका कारण धुँवा मिसिँदा वायु प्रदूषण उच्च तहमा रहँदै आएको छ। लगातार चौथो दिन सोमबार पनि वायुको गुणस्तर निकै कम छ।
मौसमविद् प्रतिभा मानन्धरका अनुसार मंगलबार अपरान्हदेखि पश्चिमी वायुको गति बढ्ने र पानी पर्ने सम्भावना छ। त्यसपछि प्रदूषण केही कम हुन सक्ने छ। सोमबार अपरान्हपछि पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का पानी पर्ने सम्भावना रहे पनि वायु प्रदूषण नै कम गर्ने मौसमी प्रणाली सक्रिय भने नरहेको उहाँले बताउनुभयो ।
सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत वायु प्रदूषणका कारण बढेको जोखिमबाट बच्नका लागि अत्यावश्यक बाहेकका अवस्थामा घर बाहिर ननिस्कने, निस्कनै परे मास्क तथा चश्मा लगाउने, सवारी साधनको प्रयोग कम गर्न अपिल गरे पनि यसबाट आइलागेको असहज अवस्था र कारण निराकरणका लागि भने खासै प्रयास गरेको देखिँदैन।







