चौथो बागमती गोल्डकपको उद्घाटन खेलमा नव जनजागृति युवा क्लब सिमरा विजयी

छहारी संवाददाता
चैत्र १३, २०७७

मकवानपुरको बागमती गाउँपालिकामा शुत्रबारदेखि सुरु भएको चौथो बागमती गोल्डकप फुटबल प्रतियोगितामा नव जनजागृति युवा क्लब सिमराले विजयी सुरुवात गरेको छ । बागमती-८ जनता माबिको खेल मैदानमा भएको उद्घाटन खेलमा आयोजकलाई १-३ ले हराउदै सिमराले विजयी सुरुवात गरेको हो ।

सिमराको जितमा दोस्रो हाफको १६ र २३ औं मिनेटमा जर्सी नम्बर १८ का एलोन राइले दुई गोल गरे । त्यस्तै थप एक गोल भने १४ नम्बर जर्सि सुशान्त तामाङले २८ औं मिनेटमा गरे । आयोजकका तर्फबाट जर्सी नम्बर १२ का उमेश लोप्चनले दोस्रो हाफको ३० औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै अग्रता लिएका थिए । तर आयोजकको लागि १ गोल मै चित्त बुझाउन पर्यो ।

खेलको म्यान अफ दि म्याच जर्सी नम्बर १८ का एलोन राई घोषित भएका छन् । उनले पुरस्कार स्वरुप नगद ५ हजार समेत प्राप्त गरे ।

प्रतियोगिता अन्तरगत १५ गते आइतबारको खेल रिगल हेटौंडा रिसोर्ट र एपीएफ नेपाल एपिएफ काठमाडौबीच हुने आयोजकले जनाएको छ । खेलको उद्घाटन नेकपा (माओवादी केन्द्र ) स्थायी कमिटी सदस्य तथा पूर्व गृहमन्त्री जर्नादन शर्मा (प्रभाकर)ले गर्नु भएको हो । फाइनल खेल चैत्र २३ गते हुनेछ । खेलकुद स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि भन्ने नाराका साथ संचालित प्रतियोगितामा उद्घाटन खेलमा करिब ५ हजार जनाले खेलको अवलोकन गरेका थिए ।

प्रतियोगितामा प्रथम हुनेलाई ८ लाख, द्वितीय हुनेलाई ४ लाख, सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार, बिधागत उत्कृष्ट खेलाडीलाई प्रतिखेलडी १०/१० हजार, म्यान अफ दि म्याचलाई प्रती खेलाडी ५/५ हजार प्रदान गरिने छ ।

नगद १ लाखबाट सुरु गरिएको यो खेलमा समयसापेक्ष पुरस्कार राशि बढाउदै आएको छ । प्रतियोगिताको पुरस्कार राशि यसवर्ष केही बढाइएको छ । गतवर्ष बागमती गोल्डकपको तेस्रो संस्करणको विजेताले नगद ६ लाख रुपैयाँ प्राप्त गरेका थिए । उपविजेता हुने समूहले ३ लाख रुपैयाँ प्राप्त गरेका थिए । बागमती गाउँपालिका खेलकुद विकास समितिले गत वर्षको तुलनामा प्रथम पुरस्कारमा २ लाख र द्वितीय पुरस्कारमा १ लाख रुपैयाँ थप गरेको हो ।

स्थानीय खेलाडी उत्पादन गर्ने र उनीहरुको सीप र कौसलतालाई प्रोत्साहन गर्ने मुख्य उदेश्यले प्रतियोगिता निरन्तर आयोजना गर्दै आएको खेलकुद बिकास समितीका अध्यक्ष भिम राइले बताए ।

तेस्रो बागमती गोल्ड कपको उपाधी र दोस्रो बागमती गोल्ड कप २०७५ को उपाधी सरस्वती क्लब काठमाडौं र पहिलो बागमती गोल्ड कप २०७५ को उपाधी हरिहरपुर गाउँपालिका, सिन्धुलीले पोल्टामा पारेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*