काठमाडौँ–तराई द्रूतमार्ग, मेलम्ची र बाहिरी चक्रपथ छलफलमा

छहारी संवाददाता
चैत्र ४, २०७७

प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको बुधबारको बैठकले अबका बैठकमा काठमाडौँ–तराई द्रूतमार्ग, मेलम्ची खानेपानी आयोजना, बाहिरी चक्रपथलगायत पूर्वाधारका विषयमा सम्बन्धित संस्था र प्रतिनिधिसँग छलफल गर्ने योजना बनाएको छ ।

प्रतिनिधिसभा पुनः स्थापनापछि पहिलोपटक बसेको बैठकले नागरिकलाई प्रत्यक्ष रुपमा प्रभाव पार्ने आयोजनामा छलफल गर्ने योजना बनाएको हो । अब बस्ने बैठकमा द्रूतमार्गका विषयमा रक्षा मन्त्रालय र नेपाली सेनासँग छलफल गर्ने योजना बनाइएको समितिका उपसचिव ओमबहादुर कार्कीले बताउनु भएको अनलाइन खबरले लेखेको छ ।

उहाँका अनुसार यही चैत ८ वा ९ गते बैठक हुनेछ । त्यसपछि क्रमशः मेलम्ची खानेपानी आयोजना र बाहिरी चक्रपथको विषयमा सम्बन्धित मन्त्रालयसँग छलफल हुने उहाँले जानकारी दिनुभयो । यसअघि गत पुस २ गते समितिको बैठक बसेको थियो ।

प्रतिनिधिसभा पुनः स्थापनापछिको पहिलो बैठकमा समितिका सदस्यहरूबीच मात्रै छलफल भएको छ । अब बस्ने बैठकहरूमा भने समितिले हेर्ने मन्त्रालयहरूका प्रतिनिधिलगायत सरोकार राख्ने संस्थाका प्रतिनिधिसमेत सहभागी हुनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*