निर्वाचन आयोगलाई नेपाल समूहको पत्र,’ओलीले एकलौटी रुपमा गरेका निर्णय विधानसम्मत छैन’

छहारी संवाददाता
चैत्र १, २०७७

नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा गरेको निर्णयलाई मान्यता नदिन मागसहित वरिष्ठ नेता माधवकुमार नेपाल समूहले निर्वाचन आयोगलाई पत्र बुझाएको छ ।

अध्यक्ष ओलीले एकलौटी रुपमा निर्णय गरेका विधानसम्मत नभएको भन्दै नेपाल समूहले आयोगलाई पत्र बुझाएको हो ।

पत्रमा स्थायी कमिटीका ११ सदस्यहरु झलनाथ खनाल, माधवकुमार नेपाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीमबहादुर रावल, घनश्याम भुसाल, भीमप्रसाद आचार्य, गोकर्णराज विष्ट, योगेशकुमार भट्टराई, मुकुन्द न्यौपाने र सुरेन्द्र पाण्डेले हस्ताक्षर गरेका छन्।

‘पार्टी विधानको धारा ४१ मा पार्टीका विभिन्न कमिटीका बैठकहरुको आयोजना हुने विधि निर्धारण गरिएको छ । केन्द्रीय कमिटीको बैठक हुनुपूर्व सचिवालय र स्थायी कमिटीका बैठक बसी केन्द्रीय कमिटीको बैठकको कार्यसूची तय गर्ने नेकपा ९एमाले० को विधि, पद्धति र अभ्यास रहँदै आएको छ । त्यसो नगरी बोलाइएको कुनै बैठक र त्यसले गरेका निर्णयहरु पार्टी विधान अनुकूल ठहरिँदैनन् । सर्वोच्च अदालतको फैसलाबाट झन्डै तीन वर्षपश्चात् नेकपा ९एमाले० यथावत् पुनर्जीवित भएकाले त्यसले पार्टीका पद्धतिसंगत बैठकहरु क्रमशः आयोजना गरी आफूलाई पुनः क्रियाशील तुल्याउनुपर्ने कुरा स्पष्ट छ ।’ पत्रमा भनिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*