विदेशबाट आएका जङ्गली चराले नेपालमा बर्ड फ्लु फैलाएको आशङ्का

नेपालमा विदेशबाट आएका जङ्गली चराबाट बर्ड फ्लुको सङ्क्रमण फैलिएको आशङ्का गरिएको छ ।
अनुगमन टोलीको प्रतिवेदनले नेपालको बाटो हुँदै जाने विदेशी चराहरुका कारण देशका विभिन्न ठाउँका कुखुरामा बर्ड फ्लुको सङ्क्रमण देखा परेको प्रारम्भिक अनुमान गरिएको पशु स्वास्थ्यसेवा विभागमा प्रवक्ता चन्द्र ढकालले जानकारी दिनुभएको उज्यालो अनलाइनले लेखेको छ ।
ठूलो सङ्ख्यामा साइबेरियालगायत ठाउँबाट नेपालको बाटो हुँदै एकै समूहमा लाखौँको संख्यामा चराहरु उडेकाले उनीहरुको प्वाँखलगायत अवशेषहरु नेपालको जमिनमा झर्दा विभिन्न ठाउँमा सङ्क्रमण देखिएको हुन सक्ने उहाँको भनाइ छ ।
काठमाण्डौको तारकेश्वर, सुर्खेत र जाजरकोटमा एक ठाउँबाट अर्को ठाउँमा घरपालुवा पक्षीहरु ओसारपसार नभएको र नाकाहरुमा समेत सङ्क्रमण नदेखिएकाले आकाशमा उडेका विदेशी चराहरुबाट नै बर्ड फ्लु भएको उहाँको भनाइ छ ।
अहिले सङ्क्रमण देखिएका देशका विभिन्न ठाउँबाट नमुना सङ्कलन गरेर देशभर रहेका पाँच वटै प्रयोगशालामा नियमित परीक्षणको काम भइरहेकोसमेत उहाँको भनाइ रहेको छ । अहिले बर्ड फ्लु नियन्त्रण नै गर्न नसकिने गरेर नफैलिएको तर जैविक सुरक्षामा भने ध्यान दिन पशु चिकित्सकहरुको सुझाव छ ।