महालक्ष्मी साहित्य पुरस्कार २०७७ साहित्यकार डा. लम्साललाई प्रदान गरिने
महालक्ष्मी साहित्य पुरस्कार २०७७ बाट साहित्यकार डाक्टर नवराज लम्साललाई सम्मानित गरिने भएको छ ।
महालक्ष्मी विकास बैंकद्वारा सामाजिक उत्तरदायित्वका लागि स्थापना गरिएको महालक्ष्मी साहित्य पुरस्कार २०७७ साहित्यकार लम्साललाई प्रदान गर्न लागिएको हो । यो पुरस्कार पाउने डाक्टर लम्साल सत्रौं श्रष्टा हुनुहुन्छ ।
कला, साहित्यको क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई प्रदान गर्न तत्कालिन यति फाईनान्सले रु. ५ हजार राशिको पुरस्कार स्थापना गरेको थियो । हाल सो फाईनान्स एकिकृत भई महालक्ष्मी विकास बैंक भएपछि सो पुरस्कारको नाम महालक्ष्मी साहित्य पुरस्कार भएको हो । यो पुरस्कार डाक्टर लम्साललाई आगामी फाल्गुन २९ गते प्रदान गरिने महालक्ष्मी बैंक, हेटौंडा शाखाका प्रमुख शम्भुप्रसाद पराजुलीले जानकारी दिनुभयो ।
सोेही कार्यक्रममा मातृभूमि राष्ट्रिय श्रष्टा सम्मान २०७७ कवि देवराज खरेल, मातृभूमि मकवानपुरश्री सम्मान २०७७ केदारप्रसाद न्यौपानेलाई प्रदान गरिने बताइएको छ । मातृभूमि साहित्य समाज, मकवानपुरले विभिन्न क्षेत्रमा योगदान दिने १५ जना व्यक्तित्वहरुलाई सम्मान तथा पुरष्कृत गर्ने भएको छ ।
समाजले रु. २५ हजार राशिको मातृभूमि राष्ट्रिय पुरस्कार संयुक्त रुपमा नाटककार सुनिल पोखरेल तथा निशा पोखरेललाई, रु. १५ हजार राशिको इश्वरी स्कृति मातृभूमि पुरस्कार २०७५ गजलकार पुष्प अधिकारी, चितवन, रु. १५ हजार राशिको इश्वरी स्मृति मातृभूमि पुरस्कार २०७६ मिथिला नाट्य परिषद जनकपुर, रु.२० हजार राशिको नित्य गोविन्द स्मृति पुरस्कार बाबु क्षेत्री, मकवानपुर, रु.१५ हजार राशिको श्याम श्रेष्ठ स्मृति मातृभूमि पुरस्कार २०७६ समाजसेवी राजकुमार सिन्धि, वीरगञ्ज, रु.११ हजार राशिको होमनाथ बलदेवी मातृभूमि पुरस्कार २०७७ साहित्यकार केशवराज आमोदी, चितवन, रु. २१ हजार राशिको मायादेवी मातृभूमि पुरस्कार २०७७ कथाकार अनुराधा शर्मा, काठमाडौंलाई प्रदान गरिने भएको छ ।
यसैगरी समाजले रु. १५ हजार राशिको शेखर शर्मा रिजाल मातृभूमि शैक्षिक पुरस्कार २०७७ सुवर्णबहादुर थापा इटहरी, रु. १० हजार राशिको हातेमालो मातृभूमि यूवा सिर्जनशील साहित्य सम्मान २०७७ साहित्यकार सुवास खनाल, मकवानपुर, रु. १५ हजार राशिको क्षेत्रबहादुर स्मृति मातृभूमि सम्मान २०७७ कवि डाक्टर गणेश पौडेल, मकवानपुर, रु. १५ हजार राशिकोराजकुमार स्मृति मातृभूमि सम्मान २०७७ साहित्यकार कृष्णविक्रम राणा, आसाम, रु.७ हजार ५ सय राशिको केशवलाल स्मृति मातृभूमि सम्मान पत्रकार सुवर्णलाल श्रेष्ठ, मकवानपुर, रु.७ हजार ५ सय १ राशिको झलकशहादुर बानियाँ स्मृति जीवन संघर्ष मातृभूमि सम्मान २०७७ विसु लामा, मकवानपुर र रु. ७ हजार ५ सय राशिको मङ्लादेवी श्रेष्ठ मातृभूमि बाल सम्मान २०७७ दिव्या चौलागाई, मकवानपुरलाई प्रदान गरिने भएको छ ।
समाजका अध्यक्ष माधव पोखरेलका अनुसार सबै पुरस्कार आगामी फागुन २८ गते शुक्रबार विशेष कार्यक्रम गरी प्रदान गरिने जनाएका छन् ।






