क्याम्पाडाँडामा मिनी रङ्गशाला निर्माण गरिँदै

छहारी संवाददाता
फाल्गुन २१, २०७७

बागमती प्रदेशको राजधानी हेटौँडामा अवस्थित क्याम्पाडाँडा नजिकको खेलमैदानलाई मिनी रङ्गशाला बनाउने काम थालिएको छ ।

खेलमैदानको वरपर आठ लेनको ४०० मिटर लामो एथ्लेटिक्स ट्र्याक निर्माण सुरु भएको हो । ट्र्याक निर्माणका लागि हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०७७र७८ मा ११ लाख रुपैयाँ बजेट उपलब्ध गराएको छ । मकवानपुरमा एथ्लेटिक्स ट्र्याक अहिलेसम्म निर्माण भएको थिएन ।

यसअघि जिल्ला एथलेटिक्स सङ्घ मकवानपुरले हुप्रचौरभित्र ट्र्याक निर्माण गर्ने नाममा केही रकम खर्च गरेर योजना बीचैमा अलपत्र बनाएको थियो । अब क्याम्पचौरमा एथ्लेटिक्स ट्र्याक निर्माणले पूर्णता पाउने हेटौँडा ५ का वडाध्यक्ष राजेश बानियाँले जानकारी दिनुभयो ।

यस वर्ष प्यारापिटको जग निर्माण गरिसक्ने र आउँदो वर्ष माथिल्लो भाग निर्माण सक्ने योजना छ । प्यारापिट निर्माणका लागि आउँदो वर्ष उपयुक्त बजेट उपलब्ध गराइने हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिनुभयो । पिप्ले युवा क्लबले ट्र्याक मात्र नभएर मैदानको दक्षिणतर्फ प्यारापिट पनि निर्माण गर्ने भएको छ । कङ्क्रिट प्यारापिटका लागि उपमहानगरबाट २० लाख रुपैयाँ बजेट उपलब्ध भएको छ ।

मैदान सम्याउने र घाँस उमार्ने काममा अहिले पिप्ले युवा क्लब व्यस्त छ । विगतमा कार, मोटरसाइकल सिक्ने मैदानका रूपमा प्रयोग हुँदै आएको क्याम्पाचौरलाई तारजाली लगाएर सुरक्षित गरिएको छ । पिप्ले युवा क्लबले मैदानबाहिर हरियाली बगैँचा पनि निर्माण गर्दैछ ।

रुख, फलफूलका बिरुवा रोपण गरेर मैदानलाई हरियाली बनाउने योजना क्लबको छ । डिभिजन वन कार्यालय मकवानपुरले बगैँचासहितको संरचना निर्माणका लागि १० लाख रुपैयाँ उपलब्ध गराएको छ । क्लबले खुला जिमहाउससमेत निर्माण गर्ने योजना बनाएको छ । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*