बागमती प्रदेशका ५ अस्पतालले पाए एम्बुलेन्स

छहारी संवाददाता
फाल्गुन १६, २०७७

बागमती प्रदेशका ५ जिल्ला अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र परिसरमा आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुर, नुवाकोट, सिन्धुपाल्चोक, धादिङ र सिन्धुली जिल्ला अस्पतालका अध्यक्ष र मेडिकल सुपरिटेण्डेण्टलाई एम्बुलेन्स हस्तान्तरण गर्नु भएको हो ।

कार्यक्रममा मूख्यमन्त्री पौडेलले प्रदेश सरकारले संचालन गरेका अस्पताल तुलनात्मक रुपमा संघीय सरकारले संचालन गरेको अस्पताल भन्दा स्तरीय ढंगले चलिरहेको दावी गर्नुभयो । अस्पतालहरुको सेवा गुणस्तरीय भए विरामी रिफर गर्ने अवस्थाको अन्त्य हुने भन्दै उहाँले यसतर्फ अग्रसर भएर काम गर्न निर्देशन पनि दिनुभयो ।

जिल्ला अस्पतालहरुको भवन निर्माणको क्रम जारी रहेको बताउँदै उहाँले जनशक्ति र उपकरणको पर्याप्त उपलव्धताका लागि प्रदेश सरकारले काम गरिरहेको बताउनुभयो ।

कार्यक्रममा प्रदेशका प्रमुख सचिव मानबहादुर विके, मन्त्रालयका सचिव दिपक काफ्ले, आपूर्ति व्यवस्थापन केन्द्रका निमित्त निर्देशक बसन्त अधिकारी, हेटौंडा अस्पतालका अध्यक्ष प्रकाश पौडेल लगायतको उपस्थिति रहेको थियो । आपूर्ति व्यवस्थापन केन्द्रले पहिलो पटक सुविधा सम्पन्न ‘ख’ बर्गको एम्बुलेन्स जिल्ला अस्पताललाई प्रदान गरेको जनाइएको छ ।

अहिले उपलव्ध गराइएका ५ वटा एम्बुलेन्सको लागत एक करोड ४६ लाख रुपैंया रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*