दोश्रो बकैया साहित्य महोत्सवको तयारी पूरा

झरना साहित्यिक परिवारको आयोजनामा शुक्रबार र शनिबार हुने दोश्रो बकैया साहित्य महोत्सवको तयारी पूरा भएको छ ।
बकैया–५ श्रीपुर स्थित प्रभात माविको प्राङगणमा हुने कार्यक्रमको तयारी पूरा भएको झरना साहित्यिक परिवारका अध्यक्ष दीपक गौतमले जानकारी दिनुभयो । पहिलो दिन शुक्रबार बालबालिका विशेष रचना वाचन, बहसमुलक कार्यक्रम र शिक्षक प्रतिनिधिको रचना वाचन हुनेछ ।
‘पठन संस्कृतिको एवम् विद्यार्थीको सिर्जनशिलता विकासमा विद्यालयको भूमिका’ विषयमा पहिलो दिन बहस हुनेछ ।
बालबालिकाहरुमा रहेको साहित्यिक प्रतिभा उजागर गर्ने उद्देश्यले पहिलो दिन बालबालिका विशेष रचना वाचन हुने अध्यक्ष गौतमले बताउनुभयो । दोश्रो दिन स्रष्टा सम्मान सहित युवा पुस्ताको रचना वाचन हुने गौतमले बताउनुभयो । बकैया साहित्य महोत्सवमा विभिन्न ८ जना स्रष्टाहरुलाई सम्मान गरिने भएको छ ।
यो वर्षको होमनाथ–टीकामाया प्रतिभा सम्मान सुनसरीका अग्रज साहित्यकार प्रा.डा. भीम उपाध्यायलाई प्रदान गरिने भएको छ । १५ हजार ५ सय ५५ रुपैयाँको यो पुरस्कार नुरप्रसाद गौतमले स्थापना गरेका हुन् । यस्तै, विनोद सुवेदीले स्थापना गरेको ११ हजार १ सय ११ रुपैयाँ राशीको बाबुलाल–भोजमाया प्रतिभा सम्मान मकवानपुरका अग्रज कवि आरआर चौलागाईँलाई प्रदान गरिँदैछ ।
रमेशमोहन अधिकारीले स्थापना गरेको ११ हजार १ सय ११ रुपैयाँ राशीको शिव–सावित्री अधिकारी स्मृति मुक्तक सम्मान अग्रज मुक्तककार ज्ञानुवाकर पौडेललाई प्रदान गरिँदैछ भने अर्पण पराजुली र दर्पण पराजुलीले स्थापना गरेको ५ हजार ५ सय ५५ रुपैयाँ राशीको खडानन्द–मनमाया स्मृति प्रतिभा सम्मान नुवाकोटकी युवा साहित्यकार सुमित्रा सुमीलाई प्रदान गरिने अध्यक्ष गौतमले जानकारी दिए ।
यस्तै बकैया–४का वडा अध्यक्ष राजन दंगालले स्थापना गरेको ५ हजार ५ सय ५५ रुपैयाँ राशीको सुशीला दंगाल स्मृति सिर्जनशील नारी सम्मान मकवानपुरकी साहित्यकार रुकु कार्कीलाई प्रदान गरिँदै छ । तुलसी गिरीले स्थापना गरेको ५ हजार ५ सय ५५ रुपैयाँ राशीको सञ्जीवनी बुटी साहित्य सेवा सम्मान बकैया–४ का मनहरी लामिछानेलाई प्रदान गरिँदै छ ।
बकैया गाउँपालिकाले स्थापना गरेको ५ हजार ५ सय ५५ रुपैयाँ राशीको झरना–बकैया पत्रकारिता पुरस्कार खेम बोलखेलाई प्रदान गरिँदैछ भने चन्द्र कुमार राईले स्थापना गरेको २ हजार ५ सय ५ रुपैयाँ राशीको झरना–बकैया नवप्रतिभा पुरस्कार–बकैया–४ की दीपशिखा घिमिरेलाई प्रदान गरिने भएको छ । यस्तै, स्थानीय प्रतिभावको रुपमा बासुरी बादक गोपाल घतानीलाई पनि सम्मान गरिँदै छ ।