बालिका हत्या आरोपमा आमासहित ५ जना पक्राउ
रुपन्देहीको मायादेवी गाउँपालिका–३ हरहरवामा १ वर्षीय बालिकाको हत्या गरेको आरोपमा मृतककी आमासहित ५ जना पक्राउ परेका छन् ।
छोरीको हत्या गरेको आरोपमा २१ वर्षीय प्रेमा यादवसहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा प्रेमासहित उनका ससुरा बुद्धिराम यादव, सासु राजमती यादव, श्रीमान राजकुमार यादव र प्रेमाका साथी लुम्बिनी सांस्कृतिक नगरपालिका–९ का प्रदिप चौधरी रहेका छन् ।
प्रेमाले छोरीको हत्या गरी आफूले आत्महत्या गर्ने मनसाय बनाएर घटना भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीलाई उदृत गर्दै रातो पाटी डटकमले लेखेको छ । प्रेमाले आफ्नो कोठामा पंखामा बाँधिएको डोरीमा छोरीलाई झुण्ड्याएर आफुले समेत सोही डोरीमा झुण्डिएर आत्महत्या गर्ने प्रयास गरेकी थिइन् ।
नन्दले डोरी काटेर प्रेमालाई बचाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्यनारायण थापाले जानकारी दिनुभयो । बालिकाको शव भने नजिकैको खोलामा लगेर गाडी सकेको जानकारी प्राप्त भएपछि तत्काल प्रहरीले घटनाको अनुसन्धान थालेको थियो ।
प्रहरीले दानव खोला नजिक बालिकाको शव फेला पारेको थियो । प्रहरीले थप अनुसन्धानको लागि पक्राउ पर्नेहरुमाथि अदालती प्रकृया अगाडि बढाएको छ ।







