तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्न आयोग प्रतिवद्ध छ :प्रमुख निर्वाचन आयुक्त

छहारी संवाददाता
फाल्गुन ७, २०७७

‘निर्वाचनमा सबै, सधैँ, सँगै’ भन्ने मूल नाराका साथ निर्वाचन आयोगले आज पाँचौँ निर्वाचन दिवस मनाउँदैछ ।

नेपालमा सर्वप्रथम विसं २०१५ फागुन ७ गते आम निर्वाचन प्रारम्भ भई वालिग नेपालीले मताधिकारको उपयोग गर्न पाएको दिनलाई स्मरण गर्दै आयोगले विसं २०७३ देखि फागुन ७ गते निर्वाचन दिवस मनाउन थालेको हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन दिवसका अवसरमा सम्पूर्ण मतदातालाई शुभकामना व्यक्त गर्दै आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सक्रियतापूर्वक सहभागी हुन आह्वान गर्नुभएको छ । थपलियाले तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्न आयोग प्रतिवद्ध रहेको समेत स्पष्ट पार्नुभएको छ ।
मुलुकको स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, जनतामा नीहित सार्वभौमसत्ता, वालिग मताधिकार, आवधिक निर्वाचन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जगमा निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रणको संवैधानिक जिम्मेवारी आयोगले प्राप्त गरेको छ ।

आयोगले निर्वाचन व्यवस्थापनको साढे छ दशक लामो अनुभव र संवैधानिक निकायको हैसियतमा आफ्नो स्थापनाका ५४ वर्ष पूरा गरिसकेको छ ।

प्रमुख आयुक्त थपलियाले निर्वाचनको यात्रामा संवैधानिक गतिशीलताअनुरूप आयोगलाई निरन्तर अगाडि बढन योगदान, प्रेरणा, सहयोग र हौसला प्रदान गर्नुहुने अग्रजको मेहनत, परिश्रम, साहस र दृढताको सम्मान एवं प्रशंसा गर्नुभएको छ ।

स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं मितव्ययी निर्वाचनको दीर्घकालिन सोंचसहित हाँसिल गरेका उपलब्धि एवं प्रारम्भ गरेको निर्वाचन व्यवस्थापन तथा सञ्चालन सुधारको यात्रालाई अझ व्यवस्थित र परिस्कृत बनाउँदै निर्वाचन सम्पन्न गर्ने अठोटका साथ आयोगले निर्वाचनको तयारीलाई व्यापक बनाउँदै लगेको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आयोगले निर्वाचन प्रक्रियाको प्रस्थान बिन्दु मतदाता नामावलीलाई त्रुटिरहित, गुणस्तरीय र अद्यावधिक बनाउने कार्य तथा निर्वाचनमा मतदाताको सहभागिता र सहज पहुँचका निम्ति मतदानस्थल एवं मतदान केन्द्र सुरक्षित, व्यवस्थित र पूर्वाधार सुविधायुक्त बनाउने गरी पुनरावलोकन गर्ने कार्य अन्तिम चरणमा पुगेको जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*