नेपाली सेना एशियाकै पुरानो सेना: राजदूत बेरी
नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले नेपाली सेनालाई एशियाकै पुरानो सेना भएको बताउनुभएको छ । नेपाली सेनाको स्टाफ कलेज शिवपुरीमा विभिन्न ६ देशका सेनाका अधिकृतहरुलाई सम्वोधन गर्दै उहाँले नेपाली सेनाको ऐतिहासिक पक्षबारे बोल्ने क्रममा यस्तो धारणा राख्नुभएको हो।
अमेरिकाजस्तो शक्ति राष्ट्रले पहिलोपल्ट नेपाली सेनको ऐतिहासिकतबारे यस्तो टिप्पणी गर्दै नेपाली सेनाप्रति उच्च सम्मान प्रकट गरेको हो।
राजदूत बेरीले भने, ‘नेपाली सेना एशियाको र संसारभरिकै पुरानोमध्येको सेना हो। यसले लामो गौरव गाथा बोकेको र देशको एकीकरणमा उल्लेख्य योगदान दिएको इतिहासमा उल्लेख पाएको छु।’
‘नेपालमा मात्र होइन विश्वव्यापीरुपमा व्यावसायिक सेनका रुपमा परिचय दिन सफल भएको छ,’ उनले भने, राष्ट्रसंघीय शान्ति सेनाका रुपमा दशकौं खटेर अन्तर्राष्ट्रिय शान्ति कायम गर्न ठूलो योगदान दिएको छ।’
नेपाली सेना र यसको स्वदेशभित्रको भूमिका र विदेशमा शान्ति कायम गर्ने सन्दर्भमा खेलेको भूमिकाबारे अमेरिकाले यसरी पहिलोपल्ट खुलस्तरुपमा प्रसंसा गरेको हो।







