दुई खेलअघि नै राष्ट्रिय महिला लिग फुटबलको उपाधि एपिएफलाई
राष्ट्रिय महिला लिग फुटबलको उपाधि दुई खेलअघि नै सशस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ। लिगमा बुधबार नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीचको खेल १-१ को बराबरीमा सकिएसँगै एपिएफ लिग विजेता बनेको हो।
एपिएफको १० खेलमा ३० अंक रहेको छ। आर्मीको ११ खेलमा २६ अंक रहेको छ। त्यसैले बाँकी खेलअघि एपिएफ विजेता पक्का भएको हो। तेस्रो स्थानमा रहेको विराटनगरको ११ खेलमा १६ अंक रहेको छ। पुलिस क्लबको ११ खेलमा १५ अंक रहेको छ। वालिङको ११ खेलमा १४ अंक रहेको छ। चन्द्रपुरको ११ खेलमा ९ अंक छ। चौदण्डीगढले कुनै अंक जोड्न सकेको छैन।
बुधबार एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा १७औँ मिनेटमा नै पुनम जर्घा मगरको आत्मघाती गोलमा पुलिस क्लबले अग्रता बनाएको थियो। खेलको ५३औँ मिनेटमा रश्मी घिसिङको गोलमा आर्मी क्लबले बराबरी गरेको हो। त्यसपछि पनि प्रतिस्पर्धात्मक बनेको खेलमा थप गोल हुन सकेन। ८७औँ मिनेटमा पाएको पेनाल्टीको समेत पुलिस क्लबले उपयोग गर्न सकेन।
प्रतियोगितामा अब चार खेल बाँकी छन्। बुधबार दिउँसो नै एपिएफले विराटनगर नगरपालिकाविरुद्ध खेल्दैछ। बिहीबार वालिङ नगरपालिका र चन्द्रपुर नगरपालिकाबीच खेल हुनेछ। यस्तै,अन्तिम दिन शुक्रबार दुई खेल हुनेछन्। जसमा एन्फा कम्प्लेक्सको मैदानमा बिहान १० बजे चौदण्डीगढी र नेपाल पुलिस क्लब साथै दिउँसो २ बजे दशरथ रंगशालामा एपिएफ र त्रिभुवन आर्मी क्लब खेल्नेछन्।





