नेपालका प्रथम सहिद लखन थापाको १४४ औं स्मृति दिवस मनाइँदै
आज नेपालका प्रथम सहिद लखन थापाको १४४ औं स्मृति दिवस उहाँको जन्मस्थल गोरखाको सहिद लखन गाउँपालिका-८ बुङ्कोटमा विशेष कार्यक्रम गरेर मनाइँदै छ ।
लखन थापामगर स्मृति प्रतिष्ठान र नेपाल मगर सङ्घको आयोजनामा आज देशभरि विविध कार्यक्रमको आयोजना गरिएको नेपाल मगर सङ्घले जनाएको छ । स्मृति दिवसका अवसरमा गएको माघ २८ गतेदेखि विद्यालय स्तरीय खेलकुद कार्यक्रम, खुला दौडलगायतका कार्यक्रम गरिएको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापामगरले बताउनुभयो, उज्यालो अनलाइनले लेखेको छ ।
जहानियाँ राणा शासनविरुद्ध आन्दोलन चलाएको भन्दै थापालाई १९३३ साल फागुन २ गते गोरखाको बुङ्कोटमा खिर्राको रुखमा झुन्ड्याएर हत्या गरिएको थियो । लखन थापामगरको बलिदान र योगदानको कदर गर्दै सरकारले उहाँलाई २०५६ सालमा सहिद घोषणा गरेको थियो भने २०७२ साल असोज ३ गते औपचारिक रुपले नेपालको पहिलो सहिदको दर्जा प्रदान गर्ने निर्णय गरेको थियो ।







