मनहरीको रमौलीमा खेल मैदान निर्माण गरिदै
मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–७ रमौलीमा मदन भण्डारी स्मृति खेलकुद मैदान निर्माणको काम सुरु भएको छ । पहिलो चरणमा खेलमैलानको कम्पाउन्ड निर्माणको काम सुरु गरिएको हो ।
मनहरी गाउँपालिकाले खेल मैदान निर्माण गर्नका लागि डिपीआर तयार गरेपछी यसको काम सुरु गरिएको अध्यक्ष एकराज उप्रेतीले वताउनुभयो । पस्चिमी क्षेत्रको सबै भन्दा ठुलो खेल मैदानका रुपमा विकास गर्नका लागि मनहरी गाउँपालिकाले काम सुरु गरेको हो ।
२० विगाहा क्षेत्रफलमा फैलिएको खेलकुदका पूर्वाधार निर्माण गर्नका लागि ५४ करोड रुपैयाँ लागतमा निर्माण सक्नेगरी डीपीआर निर्माण गरिएको अध्यक्ष उप्रेतीले बताउनुभयो । तर, चालु आर्थिक वर्षमा भने ७० लाख रुपैयाँ लागतमा काम सुरु गरिएको छ ।
खेलमैदानको कम्पाउन्ड निर्माण गर्नका लागि बागमती प्रदेश सरकारले ४० लाख रुपैयाँ र संघीय सरकारले ३० लाख रुपैयाँ उपलब्ध गराएको छ । यही अनुसार काम भइरहेको उहाँले बताउनुभयो । हरेक वर्ष दुवै सरकारले सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।







