मकवानपुर प्रहरीद्धारा ३ जना फरार प्रतिबादी पक्राऊ
मकवानपुर प्रहरीले लागूऔषध चरेश मुद्दामा फरार १ जना र कुटपिट मुद्दामा फरार २ जना प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राऊ परेका प्रतिबादीहरुलाई आज सार्बजनिक गर्दै जिल्ला अदालत मकवानपुर पठाएको हो ।
जिल्ला अदालत मकवानपुरले २०७५ साल असार ४ गते दोषी ठहर गर्दै ५ दिन कैद भुक्तान गर्न बाँकी रही फरार रहेका हेटौंडा ५ का २८ वर्षीय सुरज लामालाई पक्राउ गरेको हो। उनलाई लुकीछिपी बसेको अवस्थामा हेटौँडा ५ बाट पक्राउ गरेको जनाएको छ। पक्राउ परेका लामालाई कैदभुक्तानको लागि जिल्ला अदालत मकवानपुरमा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
त्यसैगरी कुटपिट मुद्धामा जिल्ला अदालत मकवानपुरले २०७३ साल बैशाख ३० गते दोषी ठहर गर्दै प्रतिब्यक्ती रु.५० हजार जरिवाना भुक्तानी गर्न बाँकी रहेको मनहरी १ का ३५ बर्षिय राम प्रसाद लटौंला र ३२ बर्षिय अञ्जु लटौंलालाई पक्राऊ गरेको छ । पक्राऊ परेका दुबैलाई जिल्ला अदालत मकवानपुर पठाइएको प्रहरीले जनाएको छ ।







