दोस्रो चरणको कोरोना खोप अभियानः भोलिदेखि दूतावास, यूएन एजेन्सीका कर्मचारी र पत्रकारलाई खोप लगाइने

पहिलो चरणमा सबैभन्दा धेरै बागमती प्रदेशमा ६३ हजार ३ सय ८ जनालाई खोप लगाइयो
छहारी संवाददाता
माघ २५, २०७७

सरकारले सोमबार भोलिदेखि दोस्रो चरणको खोप अभियान सुरु गर्दैछ ।

दोस्रो चरणको खोपका लागि दूतावास, यूएन एजेन्सीका कर्मचारी र पत्रकारलाई प्राथमिकतामा राखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । उहाँकाअनुसार काठमाण्डौको सिभिल अस्पताल, शिक्षण अस्पताल, सहिद गंगालाल अस्पताल र ललितपुरको पाटन अस्पतालमा दोस्रो चरणको खोप लगाइने छ ।

प्रवक्ता गौतमका अनुसार सिभिल अस्पतालमा पत्रकारलाई, पाटन अस्पतालमा यूएन एजेन्सीमा कार्यरत तथा विदेशी कर्मचारीलाई, शिक्षण अस्पताल महाराजगञ्ज र बाँसबारीमा रहेको सहिद गंगालाल अस्पतालमा दूतावास तथा कूटनीतिक नियोगमा कार्यरत व्यक्ति र विदेशी कर्मचारीमा आश्रित व्यक्तिलाई खोप दिइने, उज्यालो अनलाइनले लेखेको छ । उनीहरूलाई भोलिदेखि शुक्रवारसम्म खोप लगाइसक्ने मन्त्रालयको तयारी छ ।

खोप लगाउन पत्रकारका लागि सूचना विभागबाट जारी प्रेस प्रमाणपत्र अनिवार्य गरिएको छ । खोपका लागि पहिलो चरणको जस्तो अनलाइनमार्फत सूचीकृत हुन भने नपर्ने मन्त्रालयले जनाएको छ । यसबाहेक अरु समूहका व्यक्तिलाई पनि खोप लगाउनेबारे आज छलफल गरेर निर्णय गर्ने तयारी भइरहेको प्रवक्ता गौतमको भनाइ छ ।

गएको माघ ४ गतेदेखि सुरु भएको पहिलो चरणको खोप अभियानमा १ लाख ८४ हजार ८ सय ५७ जनाले खोप लगाएका छन् । सबैभन्दा धेरै बागमती प्रदेशमा ६३ हजार ३ सय ८ जनालाई खोप लगाइएको मन्त्रालयले जनाएको छ । भारतले अनुदानस्वरुप उपलब्ध गराएको १० लाख डोजअन्तर्गत खोप अभियान सुरु भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*