रास्वपाको बागमती प्रदेशको प्रथम अधिवेशन स्थगन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश प्रथम अधिवेशनअन्तर्गत जारी निर्वाचन प्रक्रिया स्थगित गरिएको छ।
निर्वाचन प्रक्रियामा देखिएका प्राविधिक तथा व्यवस्थापकीय समस्या समाधान गर्न अधिवेशनअन्तर्गतको मतदान कार्यक्रम स्थगित गरिएको रास्वपाको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।
आयोगले बुधबार सूचना जारी गर्दै मतपत्रमा देखिएका केही त्रुटि सच्याउन, मतदाता नामावलीको अन्तिम प्राविधिक प्रमाणीकरण गर्न तथा समायोजन सूचीमा परेका करिब ४०० जनासम्बन्धी उजुरी र विवादको सम्बोधन गर्न निर्वाचन प्रक्रिया रोकिएको जनाएको हो। साथै, प्रदेश निर्वाचन समितिमा आवश्यक जनशक्ति थप गरी निर्वाचनलाई थप व्यवस्थित बनाउनुपर्ने आवश्यकता रहेको पनि आयोगले उल्लेख गरेको छ ।
यसअघि मंगलबार राति करिब १ः३० बजे सभापति तथा प्रदेश सदस्य पदका लागि मतदान सुरु गरिएको थियो। तर मतदान सुरु भएको करिब आधा घण्टामै मतदाता नामावली र उम्मेदवारको विवरणसम्बन्धी विषयमा प्रतिनिधिहरूले आपत्ति जनाएपछि प्रक्रिया रोकिएको थियो। मतदान स्थगित हुनुअघि पाँच मत खसेको थियो ।
विवादपछि अधिवेशनस्थलमा नाराबाजीसमेत भएको थियो। स्थिति तनावपूर्ण बनेपछि प्रदेश निर्वाचन समितिले बुधवार बिहान ८ बजेसम्मका लागि मतदान स्थगित गरेको घोषणा गरेको थियो। तर बिहानसम्म पनि सहमति जुट्न नसक्दा मतदान प्रक्रिया पुनः सञ्चालन हुन सकेन ।
आयोगले प्राविधिक तथा व्यवस्थापकीय काम सम्पन्न भएपछि अधिवेशन पुनः सञ्चालन गरिने तथा बाँकी निर्वाचन प्रक्रियाको नयाँ मिति र थप विवरण मतदान सुरु हुनुभन्दा कम्तीमा २४ घण्टा अगावै आधिकारिक रूपमा सार्वजनिक गरिने जनाएको छ ।
बागमती प्रदेश सभापति पदका लागि नुवाकोटका डा. अच्युतम लामिछाने, मकवानपुरका उत्सव अर्याल, धादिङका कृष्णमान श्रेष्ठ र रामेछापका हरिबहादुर (एचबी) खत्री प्रतिस्पर्धामा छन्। सदस्य पदका लागि ८८ जनाले उम्मेदवारी दिएका छ्न्।







