मुख्यमन्त्री बानियाँद्वारा हेटौंडा अस्पतालको अवलोकन
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत सञ्चालित हेटौंडा अस्पतालको बिहिबार बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले अवलोकन गर्नुभएको छ ।
मुख्यमन्त्री बानियाँ, स्वास्थ्य किरण थापाले प्रयोगशाला (ल्याब), निर्माणाधीन मोड्युलर अपरेसन कक्ष, निर्माणाधीन नवजात शिशु सघन उपचार कक्ष(एनआईसीयू), एमडी कार्यक्रम सञ्चालन भइरहेका कक्षाकोठा तथा अन्तिम चरणमा पुगेको २ सय शैयाको नयाँ भवनको निरीक्षण गर्नुभएको थियो ।
मुख्यमन्त्री बानियाँले प्रदेश सरकारको लगानीमा अध्ययनरत एमडी चिकित्सकहरूलाई अध्ययन पश्चात् प्रदेशकै विभिन्न अस्पतालहरूमा परिचालन गर्नुपर्नेमा जोड दिनुभयो । प्रदेश सरकारले गरेको लगानीको प्रतिफल प्रदेशले नै पाउनुपर्ने उहाँको धारणा छ । हाल प्रतिष्ठानले प्रदेश सरकारको लगानीमा सात विषयमा आठ जना एमडी चिकित्सकलाई अध्ययन गराइरहेको छ । मुख्यमन्त्री बानियाँले स्वास्थ्य संस्थामा देखिएको जनशक्ति अभावलाई विद्यालय नर्स मार्फत परिपूर्ति गर्नुपर्ने बताउनुभयो ।
विद्यालय नर्स कार्यक्रम प्रभावकारी नभएकाले त्यसलाई खारेज गरी त्यहाँ कार्यरत जनशक्तिलाई स्वास्थ्य संस्थामा खटाउनुपर्ने उहाँको भनाई छ । मुख्यमन्त्री बानियाँले विगतको तुलनामा अस्पतालको सेवा प्रवाहमा केही सुधार भएपनि सन्तोषजनक भने अझै नभएको बताउनुभयो । सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन उहाँले अस्पतालका मेसु लगायत चिकित्सकहरुलाई निर्देशन समेत दिनुभयो ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार तथा हेटौंडा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष भीमसागर गुरागाईंले अस्पतालको समग्र अवस्थाबारे जानकारी गराउनुभएको थियो । हाल हेटौंडा अस्पतालले दैनिक बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म ओपिडी सेवा सञ्चालन गर्दै आएको छ । अवलोकनमा प्रतिष्ठानका उपकुलपति डा। प्रदिपराज ज्ञवाली, अस्पतालका मेसु डा।रामचन्द्र सापकोटा, अस्पतालमा कार्यरत चिकित्सक लगायतको उपस्थिती रहेको थियो ।






