सशस्त्र जनयुद्ध र राजावादीको आन्दोलन उस्तै होइन: कुमारी मोक्तान

छहारी संवाददाता
जेष्ठ १४, २०८२

बागमती प्रदेशसभा सदस्य कुमारी मोक्तानले माओवादीको सशस्त्र जनयुद्ध र राजावादीको आन्दोलनलाई एउटै नजरले हेर्न नहुने बताउनुभएको छ ।

महान् सहिद कृष्ण सेन ‘इच्छुक’को २३ औं स्मृति दिवसको अवसरमा प्रेस सेन्टर नेपाल मकवानपुरले आयोजना गरेको “जनपक्षीय पत्रकारिताः आजको आवश्यकता र महत्व” विषयक अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै उहाँले गत चैत्र १५ गतेको राजावादीको आन्दोलन र जनयुद्धलाई एउटै ढंगले ब्याख्या गरिएकोमा असन्तुष्टि जनाउनुभयो ।

विगतमा माओवादीले मिति र एजेण्डा तोकेरै घोषित रुपमै युद्ध सुरु गरेको उहाँको भनाई छ । नेकपा (माओवादी केन्द्र) की केन्द्रिय सदस्य समेत रहनुभएकी उहाँले प्रतिगामी तत्वहरुले व्यवस्था माथि नै प्रहार गर्ने गरी आन्दोलन गरिरहेको बताउनुभयो । तत्कालिन समयमा कृष्णसेनले जनपक्षीय पत्रकारिता त्यागेर आत्मसमर्पण गरेको भए मृत्युवरण गर्न नपर्ने समेत उहाँको धारणा थियो । कृष्णसेनले देखाउनु भएको मार्गमा हिड्न उहाँले सञ्चारकर्मीहरुलाई आग्रह समेत गर्नुभयो ।

त्यसैगरी अन्तरक्रिया कार्यक्रममा पार्टीका प्रदेश सचिवालय सदस्य एवं बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले कृष्णसेनको अधुरा सपनाहरुलाई अहिलेको पुस्ताले पुरा गर्नुपर्ने बताउनुभयो । पत्रकारहरुले जनपक्षीय पत्रकारिता गर्नुपर्नेमा समेत उहाँले जोड थियो ।

अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले कृष्ण सेन इच्छुकले पत्रकारिता क्षेत्रमा पु¥याएको योगदानको स्मरण गर्दै आजको परिवेशमा जनपक्षीय पत्रकारिताको अझ ठूलो आवश्यकता रहेको धारणा राखेका थिए । उनीहरूले व्यावसायिक दबाब, सूचना प्रवाहको सन्तुलन, र जनताको आवाज बुलन्द गर्न पत्रकारिताले खेल्नुपर्ने भूमिकाबारे प्रकाश पारेका थिए ।

सहभागीहरूले कृष्ण सेन इच्छुकको तस्वीरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए । २०५९ जेठ १५ गते राज्यद्वारा हत्या गरिएका सहिद कृष्ण सेन ‘इच्छुक’ नेपाली जनपक्षीय पत्रकारिताका प्रतीक पात्र मानिन्छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*