द्वापरयुगमा मानव कुलमा जन्म लिएका कृष्ण आफ्नो सत्कर्मले भगवान बने

छहारी संवाददाता
भदौ २०, २०८०

बुधबार श्री कृष्ण जन्माष्टमी । यस दिन भगवान श्री कृष्णको श्रद्धा भक्ति पूर्वक पूजा आराधना गरीन्छ । भनवान श्रीकृष्णको जन्म, हिन्दू पञ्चाङ्ग अनुसार भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले यस दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ ।

हिन्दू धर्मावलम्बीहरुले कृष्ण जन्माष्टमीलाई पर्वका रुपमा धुमधामसंग मनाउने गर्दछन् । यस दिन देशभरका कृष्ण मन्दिरहरूमा भगवान् श्रीकृष्णको पूजा आराधना, प्रवचन, भजन कीर्तन गर्नुका साथै व्रत गरी रातभर जाग्राम बस्ने गरिन्छ ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगमा मानव कुलमा भएको थियो । मानव कुलमा जन्म लिएका उनले अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट मानवको संरक्षण मात्र गरेनन् आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि सबैलाई प्रेरित गरे । उनको जन्म नै धर्म र सत्यको स्थापनाको लागि भएको शास्त्री, युवा धर्म प्रचारक सुवास घिमिरे बताउनुहुन्छ ।
वसुदेव र देवकीका आठौँ सन्तानका रूपमा जन्मीएका श्रीकृष्णले राक्षसी प्रवृत्तिका आफ्नै मामा कंसको संघार गरे । लोकको उद्धारका लागि सत्कार्य गरेका कारण मानव कुलमा जन्मिएर पनि कृष्णलाई भगवान मानिएको लक्ष्मी नारायण मन्दिर हेटौंडाका पुजारी दिनेश रिजालको भनाई छ ।

कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँको समय, अर्जुनलाई उपदेश दिने क्रममा श्रीकृष्णले दिएको दिव्य ज्ञानलाई नै हिन्दु धर्मावलम्बीहरुको पवित्र ग्रन्थ श्रीमद्भागवत गीता मानिन्छ । श्रीकृष्णले अर्जुनको माध्यमबाट सम्पूर्ण लोकलाई सत्मार्गको उपदेश दिनुभएको लक्ष्मी नारायण मन्दिर हेटौंडाका पुजारी दिनेश रिजाल बताउनुहुन्छ ।

मथुराका यादवको भृष्नी कुलमा जन्म लिएका कृष्ण आफ्नो सत्कर्मले भगवान बने । उनको ख्याती यत्रतत्र सर्वत्र युगौंयुग बाचिरहने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*