६ वटा प्रदेशका १५ जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइँदै

छहारी संवाददाता
फाल्गुन ८, २०७९

यहि फागुन ११ गतेदेखि ६ वटा प्रदेशका १५ जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाईदै छ । ११ गतेदेखि २५ गतेसम्म झापा, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, रसुवा, लमजुङ, पर्वत, बाग्लुङ, कपिलवस्तु, दाङ, बाँके र कैलाली जिल्लामा यो अभियान सुरु हुनेछ ।

यसअघिका अभियानमा धेरैले औषधि नखाइदिने समस्या देखिएकाले यसपटक स्वास्थ्यकर्मीको अगाडि नै औषधि खुवाईने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । धेरैले औषधि नै नखाइदिएकाले रोग निवारणमा समस्या भइरहेको महाशाखाको भनाइ छ ।

हात्तीपाइले शारीरिक रुपमा अशक्त तथा अपाङ्ग बनाउने सरुवा रोग हो । यो रोग एक प्रकारको मसिनो धागो आकारको जुकाजस्तै परजीवीले गराउँदछ र यो रोग सङ्क्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्दछ । रोगको लक्षण देखिसकेपछि निको पार्न नसकिने र धेरैजसो सङ्क्रमण लक्षण विनाको हुने भएकाले समुदायका अन्य व्यक्तिहरुलाई समेत रोग सर्ने सम्भावना धेरै हुने डाक्टरहरुको भनाइ छ ।

दुई वर्ष उमेर नपुगेका बालबालिकाहरु, गर्भवती र सात दिनसम्मका सुत्केरी, छारे रोगका समस्या भएका व्यक्तिहरु तथा सिकिस्त बिरामीहरुले यो औषधि खानु नहुने महाशाखाले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*