सडकका घाइते कुकुरको सहारा बन्दै हेटौँडाका युवा
सडकमा अलपत्र परेका, दुर्घटनामा घाइते भएका तथा विभिन्न रोगबाट पीडित सामुदायिक कुकुरहरूको उद्धार, उपचार र संरक्षणमा हेटौँडाका नौ युवा सक्रिय रूपमा जुटेका छन् ।
व्यक्तिगत समय, श्रम र खर्च लगाएर उनीहरूले सडकमा कष्टकर जीवन बिताइरहेका कुकुरहरूको उपचार तथा व्यवस्थापन गर्दै आएका छन् ।
‘हेटौँडा एनिमल एण्ड डग वेलफेयर क्लब’ मार्फत हालसम्म तीन सयभन्दा बढी सामुदायिक कुकुरको उद्धार, उपचार तथा व्यवस्थापन गरिएको क्लबका अध्यक्ष सजल पौडेलले जानकारी दिनुभयो । नौ सदस्यीय टोलीमा पशुसम्बन्धी ज्ञान भएका सदस्यसमेत सहभागी हुनुहुन्छ ।
क्लबले विशेषगरी सडक दुर्घटनामा परेका, सवारी साधनको ठक्करबाट घाइते भएका, छालासम्बन्धी रोगबाट पीडित तथा भोकमरी र अन्य समस्यामा परेका कुकुरहरूको उद्धार गर्दै आएको छ ।

उपचारका लागि आवश्यक खर्च सदस्यहरूले आफैँ जुटाउने गरेका छन् भने सामाजिक सञ्जालमार्फत सहयोग सङ्कलन गरेर पनि उपचार गराइँदै आएको छ । उद्धार गरिएका घाइते तथा बिरामी कुकुरलाई उपचार अवधिभर सुरक्षित रूपमा राख्ने उपयुक्त स्थानको अभाव रहेको छ ।
आश्रयस्थल नहुँदा कहिले आफ्नै घरको आँगनमा, कहिले सार्वजनिक खाली भवनमा त कहिले खुला स्थानमा राखेर उपचार गर्नुपर्ने बाध्यता रहेको क्लबका सदस्यहरू बताउँछन् ।
सडकमा भेटिने अधिकांश सामुदायिक कुकुर सवारी दुर्घटनाको सिकार हुने गरेको अध्यक्ष पौडेलको भनाइ छ ।
सवारी साधनले ठक्कर दिएपछि चालकहरू घटनास्थलबाट भाग्ने गरेका कारण धेरै कुकुर कैयौ दिनसम्म सडकमै छटपटाइरहेको अवस्थामा भेटिने गरेको उहाँले बताउनुभयो । “सामुदायिक कुकुरप्रति समाजका केही व्यक्तिको दृष्टिकोण अझै सकारात्मक बन्न सकेको छैन।
कुकुरमाथि ढुङ्गा हान्ने, लखेट्ने, कुटपिट गर्ने तथा विष हालेर मार्ने जस्ता अमानवीय व्यवहारका घटना भइरहेका छन्। यस्ता घटनाविरुद्ध प्रभावकारी कानुनी कार्यान्वयन नहुँदा दुव्र्यवहार दोहोरिने गरेको छ ।” अध्यक्ष पौडेलले बताउनुभयो ।
नेपालको प्रचलित कानुनले पशुपन्छीमाथि क्रूर व्यवहार गर्न नहुने व्यवस्था गरे पनि सम्बन्धित निकायबाट प्रभावकारी कार्यान्वयन हुन नसकेको क्लबका सदस्यहरूको भनाइ छ । कुकुरलाई कुटपिट गर्ने, घाइते बनाउने वा सवारी दुर्घटनापछि भाग्ने व्यक्तिमाथि कडा कानूनी कारबाहीको व्यवस्था हुनुपर्ने उनीहरूको माग छ ।
सामुदायिक कुकुरको संरक्षण, उपचार, खोप, बन्ध्याकरण र व्यवस्थापनका लागि राज्यका तीनै तहका सरकारले छुट्टै बजेट विनियोजन गर्न आवश्यक रहेको क्लबकी कोषाध्यक्ष आश्रिती सेढाइले बताउनुभयो ।
सामुदायिक कुकुरको संरक्षणलाई केवल पशु कल्याणसँग मात्र नभई सार्वजनिक स्वास्थ्य, सवारी दुर्घटनाको जोखिम न्यूनीकरण तथा सुरक्षित सहरी व्यवस्थापनसँग समेत जोडेर हेर्नुपर्ने उहाँले बताउनुभयो।
सामुदायिक कुकुरको उद्धार तथा उपचारमा सक्रिय युवाहरूलाई सहयोग पुग्ने गरी हेटौँडा उपमहानगरपालिकाले प्रयोगविहीन अवस्थामा रहेको हेटौँडा–१ स्थित खसीबजार भवनलाई सामुदायिक कुकुरको आश्रयस्थल (सेल्टर) का रूपमा उपलब्ध गराउने तयारी गरेको छ ।
उक्त भवनमा आश्रयस्थल सञ्चालनमा आएपछि घाइते तथा बिरामी कुकुरहरूको उपचार र व्यवस्थापन थप व्यवस्थित हुने अपेक्षा गरिएको छ । उपचारपछि आराम गर्नुपर्ने, नियमित औषधि सेवन गर्नुपर्ने तथा पूर्ण रूपमा स्वस्थ भइनसकेका कुकुरहरूलाई सुरक्षित रूपमा राख्न सकिनेछ ।







