१ लाख २५ हजार राशिको आदिकवि भानुभक्त पुरस्कार चित्तरञ्जन नेपालीलाई प्रदान
यस वर्षको आदिकवि भानुभक्त पुरस्कार इतिहासकार चित्तरञ्जन नेपालीलाई प्रदान गरिएको छ। नेपाल शिक्षा परिषद्ले २०९औँ भानुजयन्तीका अवसरमा हरेक वर्ष प्रदान गर्दै आएको आदिकवि भानुभक्त पुरस्कारबाट यस वर्ष इतिहासकार नेपालीलाई प्रदान गरिएको हो ।
१ लाख २५ हजार रुपैयाँ नगद राशि र प्रमाणपत्र रहेको याे पुरस्कार हिजाे साहित्यकार एवम् शिक्षाविद् मुकुन्द शर्मा चालिसेले नेपालीलाई प्रदान गर्नु भएकाे हाे । भानु पुरस्कारबाट सम्मानित नेपाली २०१३ सालको मदन पुरस्कार विजेता समेत हुनुहुन्छ । ९२ वर्षीय नेपालीले ‘तत्कालीन नेपाल र भीमसेन थापा’ कृतिमा मदन पुरस्कार पाउनुभएको थियो ।
पुरस्कार हस्तान्तरण गर्दै शिक्षाविद् चालिसेले नेपाली साहित्य क्षेत्रको विकास र विस्तारमा भानुभक्त आचार्यको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्वअध्यक्ष मोहन सिटौला र नेपाल शिक्षा परिषद्का सदस्य डा.बमबहादुर थापा ‘जीताली’ ले भानुभक्त आचार्यको साहित्य नेपालमा मात्र नभइ विश्वमाझ फैलिएको बताउनुभयो ।
नेपाल शिक्षा परिषद्का अध्यक्ष रमा शर्माले नेपाली भाषा, साहित्य, संस्कृति र अध्यात्म क्षेत्रमा विशेष योगदान पुर्याएका व्यक्तिलाई हरेक वर्ष भानु पुरस्कारबाट सम्मान गर्दै आएको बताउनुभयो । उहाँले अक्षयकोष स्थापना गरी भानु पुरस्कार स्थापना गर्दै आएको उल्लेख गर्नुभयो ।
२००८ सालमा स्थापना भएको नेपाल शिक्षा परिषद्ले २०१६ सालमा दरबार हाइस्कुल अगाडि भानुभक्तको प्रतिमा स्थापना गरी हरेक वर्ष भानुजयन्तीमा माल्यार्पण गर्दै आएको नेपाल शिक्षा परिषद्का सदस्य सचिव लक्ष्मण थापाले जानकारी दिनुभयो । साभारः उज्यालो अनलाइन ।