कोरोना जोखिमका कारण माओवादी अध्यक्ष प्रचण्डसंग भेटघाट बन्दः सचिवालय

छहारी संवाददाता
२२ पुष २०७८, बिहीबार १६:५५

कोभिड संक्रमणको जोखिमका कारण भन्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेटघाट बन्द गर्नुभएको छ ।

प्रचण्डको सचिवालयले आज दिएको सूचना अनुसार प्रचण्डलाई भेटेर बधाई दिने कार्यक्रम आजबाट रोकिएको हो हेल्थपाटी डटकममा समाचार छ । ‘विगत तीन दिन यतादेखि भौतिक रूपमा भेटेरै भइरहेको बधाई एवं शुभकामना आदान–प्रदानलाई आजैका दिनदेखि रोकेको कुरा जानकारी गराउदछौँ प्रचण्डको सचिवालयले दिएको सूचनामा भनिएको छ ।

राजनीतिक कामको व्यस्तता, भीडभाड र स्वास्थ्य सतर्कताको कमिका कारण यस्तो निर्णय भएको प्रचण्डको सचिवालयले जनाएको छ । काठमाडौं लगायतका विभिन्न स्थानमा बढेको कोभिड संक्रमण तथा स्वास्थ्यकर्मीको सुझावलाई समेत ध्यान दिई भेटघाट रोकिएको सचिवालयले भनेको छ ।

आठौं राष्ट्रिय महाधिवेशन सफलतापुर्वक सम्पन्न भएको र प्रचण्ड पुनः अध्यक्षमा चयन भएकोमा भेटेरै बधाई दिन क्रम चलिरहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*