शोक प्रस्ताव पारित गरेर सकियो बागमती प्रदेश सभा बैठक
बागमती प्रदेशसभाको आइतबार बसेको आठौं अधिवेशनको पहिलो बैठक शोक प्रस्ताव पारित गरेर सकिएको छ । सभामुख सानुकुमार श्रेष्ठले दोलखाका प्रदेशसभा सदस्य पशुपति चौलागाईंको निधनप्रति राखेको शोक प्रस्ताव बैठकले पारित गरेको हो । प्रदेशसभाको अर्को बैठक सोमबार बिहान ११ बजे बस्नेछ ।
बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुले शुभकामना मन्तव्य दिने, आर्थिक वर्ष २०७७ को महालेखापरीक्षकको वार्षिक प्रतिवेदन, मुख्य न्यायाधिवक्ताको वार्षिक प्रतिवेदन तथा लेखा समितिले २०७८ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची भए पनि त्यसमा प्रवेशै नगरी बैठक स्थगित भएको हो ।
प्रदेशसभाको सातौं अधिवेशनमा विपक्षी दलहरुले मोर्चाबन्दी गर्दै मदन भण्डारी फाउन्डेशनलाई सरकारले उपलब्ध गराएको ५० लाख रुपैयाँ रोक्नुपर्ने र विद्युतीय बस खरिद प्रक्रिया रोक्नुपर्ने माग राख्दै लगातार अवरोध गरेका थिए । विपक्षीको अवरोधका कारण सरकारले हतारहतार प्रदेशसभा अधिवेशन नै अन्त्य गरेको थियो ।
असार १ गते बजेट ल्याउनुपर्ने व्यवस्थाअनुसार प्रदेश सरकारले विपक्षी दलहरुको मोर्चाबन्दीको अवस्थामा पनि प्रदेशसभा बैठक आह्वान गरेको हो । बजेट ल्याउनुभन्दा १५ दिन अगाडि बजेटको सिद्धान्त र प्राथमिकता सदनमा पेस गर्नुपर्ने भएका कारण प्रदेशसभा आह्वान गरिएको हो । कोरोना महामारी कारण सांसदहरुलाई प्रदेशसभाभित्र एन्टिजेन्ट परीक्षण गरेरमात्र प्रवेश गराइएको थियो ।
सांसदहरुलाई प्रदेशसभाको दुई स्थानमा राखेर बैठक सञ्चालन गरिएको प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले जानकारी दिए । साभारः इकान्तिपुर ।






