सोमबार एमालेको स्थायी कमिटी बैठक बस्दै
नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार एमालेको स्थायी कमिटी बैठक बोलाउनु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मध्यान्ह १२ बजेपछि स्थायी कमिटी बैठक बोलाइएको हो । बैठकमा चुनावको घोषणाविरुद्ध विपक्षी गठबन्धनको कसरत र पार्टीको आन्तरिक विवादबारे छलफल हुने एक नेताले बताएका छन् र यसअघि ८ जेठमा बसेको स्थायी कमिटीले माधव नेपाल पक्षका ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा जैरुलाई सोमबार बिहानसम्म स्पष्टीकरण बुझाउन भनिएको थियो । स्पष्टीकरण बुझाउन भनेर दिइएको समयअवधि पूरा भएकाले सोमबारको स्थायी कमिटीको बैठकले थप निर्णय लिन सक्ने अनुमान छ ।






