सर्वसाधरणले कोरोनाको जोखिमलाई बेवास्ता गरेः मकवानपुरका प्रजिअ पाण्डे
मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले चार स्थानीय तहमा निषेधाज्ञा लगाईएको भएपनि यसको पूर्ण पालना नहुँदा कोरोना संक्रमण अझै बढेको बताउनु भएको छ ।
प्रशासन कार्यालयमा आज आयोजित पत्रकार भेटघाटमा उहाँले सर्वसाधरणले कोरोनाको जोखिमलाई बेवास्ता गरेको गुनासो गर्नुभयो । पप्रजिअ पाण्डेले पत्रकारहरुलाई कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा प्रशासनले गरेका कामबारे जानकारी गराउनु भएको थियो ।
छलफलमा पत्रकारहरुले कोरोना परीक्षणको दायरा बढाउनुपर्ने, खाद्य सामग्री स्थानीय पसलबाट खरिद गर्नुको सट्टा बजारसम्म आउने क्रमलाई रोक्नुपर्ने, सुरक्षा निकायलाई बजार केन्द्रीत मात्र नभई भिडभाड हुने गरेका ग्रामीण क्षेत्रसम्म परिचालन गर्नुपर्ने लगायतका सुझाव दिएका थिए ।
पत्रकारहरुले बिरामी ओसारपसारमा एम्बुलेन्सको असहजता, बजारमा देखिएको कृत्रिम अभाव, मुल्य बृद्धि जस्ता विषयमा प्रशासनले ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।
छलफल कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेश महासचिव कृष्ण सारुमगर, पत्रकार महासंघ मकवानपुरका पुर्व अध्यक्ष राममणि दाहाल, प्रेस युनियन मकवानपुर अध्यक्ष कुमार अधिकारी सहित सहभागी पत्रकारहरूले निषेधाज्ञाको अवस्था र सुधार गर्नुपर्ने कुरा बारे प्रजिअ पाण्डेलाई ध्यानाकर्षण गराउनु भएको थियो ।





