हेटौडामा कांग्रेसको सुभेच्छुक संस्थाहरुद्धारा विरोध प्रदर्शन तथा सभा आयोजना

छहारी संवाददाता
माघ २४, २०७७

नेपाली कांग्रेस मकवानपुरका सुभेच्छुक संस्थाहरुले शनिवार हेटौंडामा विरोध प्रदर्शन तथा सभा गरेका छन् ।

कांग्रेसको केन्द्रीय कार्यक्रम अन्तर्गत प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको असंवैधानिक कदमको विरुद्धमा हेटौंडामा पनि सुभेच्छुक संस्थाहरुले प्रदर्शन सहित सभा आयोजना गरेका हुन् । नेपाल ट्रेड युनियन कांग्रेस मकवानपुरका अध्यक्ष यमबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका कार्यवाहक सभापति विष्णु प्रसाद लामिछानेको प्रमुख आतित्थ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि लामिछानेले सर्पलाई जतिनै दुध पिलाएपनि बिष नै ओकल्ने भन्दै बहुमत पाएर पनि कम्युनिष्टहरुले संसद विघटन गरेर आफ्नो चरित्र देखाएको टिप्पणी गर्नुभयो । ओली र प्रचण्डको अपवित्र गठबन्धनका कारण देश समस्यामा परेको उल्लेख गर्दै उहाँले अब नेपाली जनताले सत्य के हो भन्ने बुझ्नुपर्ने बेला आएको बताउनुभयो । उहाँले विगत देखिनै हरेक राजनितिक समस्याको निकास कांग्रेसले दिएको स्मरण गराउँदै अहिलेको समस्याको निकास पनि कांग्रेसले नै दिने दाबी गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका प्रमुख सल्लाहाकार रामचन्द्र अर्याल माइकल, नेपाल प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारी पोष्टराज, नेपाल प्राध्यापक संघका पूर्व अध्यक्ष कृष्णप्रसाद दाहाल, प्रजातान्त्रिक कानुन व्यवसायी संघ मकवानपुरका अध्यक्ष कृष्णप्रसाद न्यौपाने, लोकतान्त्रिक खेलकुद संघ मकवानपुरका उपाध्यक्ष युवराज लामा लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका प्रवक्ता प्रदिप कोइराला, प्राध्यापक संघ मकवानपुरका अध्यक्ष राजबाबु पहाडी, वनसम्पदा उपभोक्ता राष्ट्रिय महासंघका शिवबहादुर भण्डारी लगायत विभिन्न सुभेच्छुक संस्थाका जिल्ला अध्यक्ष, पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*